काठमाडौँ — अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (एकता) ११ औं किन्डर ओलम्पिक माघ ६ र १३ गते दशरथ रंगशालामा आयोजना गर्ने भएको छ ।
हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा यसपाालि उपत्यकाभित्रका ३६ विद्यालयले सहभागिता जनाउने बिहीबार पत्रकार सम्मेलनमा एकताकी अध्यक्ष बिना शर्माले जानकारी गराउनु भयो ।
किन्डर ओलम्पिकमा ३ देखि ६ वर्ष उमेरका १७ सय विद्यार्थीले विभिन्न खेलकुद इभेन्ट्समा भाग लिने प्रतियोगिता संयोजक केदारमान स्थापितले बताउनु भयो । त्यसमा एथलेटिक्स, जुडो, कराते, उसु, तेक्वान्दो खेल समावेश गरिएको छ ।
सानै उमेरबाट नै विद्यार्थीलाई खेलकुदमा संलग्न गराउने यस इभेन्टको नारा ‘जितभन्दा सहभागिता महत्त्वपूर्ण’ राखिएको छ । अध्यक्ष शर्माले भन्नुभयो , ‘किन्डर ओलम्पिकमा सहभागिता ठूलो हो । साना नानीहरूलाई रंगशालासम्म पुर्याउने हाम्रो उद्देश्य हो । हामीले सबैलाई पदक दिन्छौं, यसले जितभन्दा सहभागिता मुख्य हो भन्ने सबैले महसुस गरुन् र भोलिका दिनमा ओलम्पिक खेल्ने खेलाडी बनुन् ।’
Facebook Comments