माघ २२, काठमाडौं । श्रमजीवि पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालले २६ औं स्थापनामा ६ जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । चौतारीले स्थापना दिवसको अवसरमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विभिन्न विधामा ६ जना पत्रकारलाई पुरस्कृत गरेको हो ।

विधागत रुपमा यस वर्ष हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीलाई प्रदान गरिएको छ । यस्तै अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार प्रेस चौतारीका पूर्वबरिष्ठ उपाध्यक्ष माधव नेपाललाई प्रदान गरिएको छ ।

यसैगरी चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट यासिमा महत, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट फणिदेव महत, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट महेश केसी र सावित्रीदेवी– पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट काजल तामाङ पुरस्कृत भएका छन् ।

बरिष्ठ पत्रकार गोबिन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिबल्लभ नेपाल रहनुभएको सिफारिस समितिले उक्त पुरस्कारको निर्णय गरेको थियो ।

पुरस्कृतहरुलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पुरस्कार प्रदान गर्नुभएको हो । कार्यक्रममा सम्बोधन गर्दै एमाले उपाध्यक्ष पौडलले गठबन्धन सरकारको अयोग्यताले देश छियाछिया भएको आरोप लगाउनुभयो । पौडेलले देशको अहिलेको स्थिति ’मल्टीअर्गन फेलियर’ को अवस्थामा रहेको र यो अवस्थामा ल्याउन अहिलेको गठबन्धन जिम्मेवार रहेको बताउनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, प्रेस चौतारीका वर्तमान तथा पूर्व नेतृत्वकर्ता, विभिन्न पत्रकार संघसंगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।