
ललितपुर । महालक्ष्मी महोत्सवको तयारी पुरा भएको छ । ५ फागुनमा महालक्ष्मी नगरपालिकाको वडा नं ८ मा रहेको महालक्ष्मी मन्दिर परिसरमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्ने महोत्सवको समापनमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन् ।
“महालक्ष्मी नगरको समृद्धिको आधार शिक्षा उद्योग पर्यटन र व्यापार” भन्ने मूल नाराका साथमा स्थानीय कला एवं संस्कृतिको प्रदर्शनी तथा मौलिक खानाका साथै स्टलहरु र सो स्थानमा उत्पादन भएका सामग्रीको प्रचारप्रसारका लागि उक्त कार्यक्रम हुने भएको हो ।
ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजना गरेको महालक्ष्मी महोत्सवले नगरपालिकाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय पक्षको उजागर हुने मेयर हरिगोविन्द श्रेष्ठले बताए । ५ देखि ७ फागुनसम्म सञ्चालन हुने महोत्सवका लागि नगरसभाले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको जनाइएको छ ।
वडाअध्यक्षहरुको संयोजकत्वमा विभिन्न ९ वटा उपसमिति गठन गरेर तीव्र रुपमा तयारी गरिएको महोत्सवमा स्वदेशी र बिदेशी पर्यटकलाई आकर्षित गरी नगरपालिकाको दीर्घकालीन आयस्तर बृद्धि गर्ने विश्वास लिइएको मेयर श्रेष्ठले बताए ।
महोत्सवमा ऐतिहासिक सम्पदाहरुको अवलोकन, सांस्कृतिक कार्यक्रम, नेवारीसहितका ४० वटा बाजाहरुको प्रस्तुति र प्रदर्शन, तामाङ संस्कृतिसहितको खाना महोत्सव, मार्चपास, र्याली, घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्रीस्थललगायतका गतिविधि हुने नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।
Facebook Comments