स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर र उपमेयरसहित नौजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०७७–७८ मा सार्वजनिक खरिद ऐन नियमावलीविपरीत खरिद सम्झौता गरी भुक्तानी गरेको भन्दै अख्तियारले धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन मेयर, उपमेयरसहित नौजनाविरुद्ध मुद्दा दायर गरेको हो।

 नगरपालिकाले २०७७ फागुन १९ गते रेजा ट्रेडिङ्ग प्रालिसँग स्यानिटरी प्याड खरिदका लागि सम्झौता गरेको थियो। तर, रेजा ट्रेडिङ्गले त्यसअघि नै स्यानिटरी प्याड आपूर्ति गरेको र नगरपालिकाले समेत सम्झौता अगावै भुक्तानी गरेको अख्तियारको दाबी छ।

शिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित भएको भनिएको २०७७ माघ २२ को राष्ट्रिय दैनिक पत्रिका रेजा टुडेमा नगरपालिकाको कुनै  सूचनासमेत प्रकाशित भएको अख्तियारले जनाएको छ।

 उक्त कार्यमा संलग्न भएको आरोपमा अख्तियारले तत्कालीन नगर प्रमुख उदयकुमार यादव, उपप्रमुख शिलादेवी कापर, प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदिपकुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारी, माध्यमिक विद्यालय हठ्ठीपुरवाहाका तत्कालीन प्रधानाध्यापक श्रीकृष्ण भिनवार, रेजा ट्रेडिङ्ग प्रालिका प्रोपराइटर एवं रेजा टुडे पत्रिकाका प्रकाशक अकवर मंसुरलाई प्रतिवादी बनाएको छ।