अप्रिल १२ देखि १४ सम्म काठमाडौँमा संचालन भएको ओशोधारा नेपालको तेस्रो तहको तिन दिवसीय योग समाधि साधना शिविर सम्पन्न भएको छ। तमसोमा ज्योतिर्गमय:को साक्षात्कार, परमात्माको दिव्य प्रकाशसंग साक्षात्कार हुँदै, आलोकमय ऊर्जासंग एकाकार हुने निरती योगको साधनाबाट ३५ जना भन्दा बढी साधकले लाभ लिएका छन्। 

सुमिरन योग, आलोक योग, दर्शन योग र ओशो किर्तन सन्ध्याको माध्यमबाट दिव्य चेतनासंग जोडिने, दिव्यताको अनुभूतिका साथमा गहिराईको साधनामा अभ्यासरत रहने सहज योगको साधनाबाट जुन अनुभूति भएको छ त्यसलाई शब्दमा व्यक्त गर्न नसकिने केवल आन्तरिक शान्ति, सृजनात्मकता र कार्यकुशलतामा आएको परिवर्तन मार्फत स्वस्थ, मस्त र आनन्द रहन सिकेको साधकहरूको पृष्ठपोषण रहेको छ। 

आफ्नो आन्तरिक साधना, आन्तरिक रहस्यसंग उजागर भएको अनुभव रहेको बताउंछिन् मन्जु घिमिरे अधिकारी। समर्पण र दिव्यतालाई आफ्नो जीवनशैली बनाउने कला सिकेको र त्यसको गहिराईको अनुभूति रहेको बताइन् सविना राईले। बिक्रम भट्टराई बताउछन्-ओशोधाराको पहिलो तहबाट कार्यक्रम गर्दै तेस्रो तहसम्म आउँदा सायद जीवनमा इन्जिनियरिङ्गको पढाईबाट नसिकेको आनन्द, शान्ति, स्वस्थ, प्रफुल्लता र आफ्ना रिपुहरूसंग सचेत रहने कला सिकेको छु। विद्यार्थी जीवनमा नै यो साधना पद्धति सिकेर आफ्नो कर्मयोग र साधनालाई संगै अगाडी बढाउन पाएकोमा अत्यन्त हर्षित रहेको प्रदीप महतको अनुभव छ। युवा अवस्थामा नै परमात्माको खुमारीमा डुब्न पाएको र जीवनलाई हेर्ने दृष्टिकोण नै सकारात्मक भएको बताउंछन् सौगात घिमिरे। जोरबा दि बुद्धको यो साधना पद्धतिले जीवनमा अहोभावका साथ जिउने प्रेरणा मिलेको बताइन् चन्दा रायमाझीले। साधनाको आनन्द र यसले जीवनमा दिने सकारात्मक रूपान्तरण शब्दमा व्यक्त गर्न नसकिने वीरत रायमाझीको अनुभव छ। 

सुमिरन योग, आलोक योग, दर्शन योग र ओशो किर्तन सन्ध्याको माध्यमबाट विभिन्न आयामबाट दिव्य चेतनासंग परिचित हुन प्रशिक्षण गर्ने अर्थात् साधनाको विधि सिकाएर आफै अनुभवमा उत्रिने कला प्रदान गर्ने आचार्य डा प्रद्युम्नराज पाण्डे, आचार्य पूजारी र आचार्य डा नम्रताले आचार्यको भूमिका मार्फत समग्र साधना विधिसंग परिचित गराएका थिए।