
समाचार कक्ष र क्यामेराको अघिपछि डौडिदै झण्डै ४० वर्ष सक्रिय पत्रकारिता गरेका बरिष्ठ पत्रकार तीर्थ कोइराला सुन्तला रंगको गाउनमा अध्यात्मिक भजनमा मस्त झुमिरहेका देखिन्थे । ओशोधारा नेपालको हेपाली हाइट साधना केन्द्रमा शुक्रबार, शनिवार र आइतबार तीन दिने सुरती योगमा सहभागी कोइराला सङ्गै युवा पत्रकार अमृत तिमल्सिना, बैकर दीपेश मैनाली, सरकारी कर्मचारी र ब्यबसायीहरु पनि सुन्तला रंगको गाउनमा सजिएर घरी ध्यान र समाधीमा मस्त थिए भने घरी घरी साधना संगीतमा झुभिरहेका थिए । सुरती योगको ध्यान र समाधीमा लीन कोइराला, तिमल्सिना र मैनाली जस्तै पचासभन्दा बढीले नेपालका ध्यानकेन्द्रबाट सुरती योग सम्पन्न गरेका छन् ।
नेपालको काठमाडौं र भक्तपुर साधना केन्द्र सहित भारतका विभिन्न राज्य गरी सहित १२ ठाउँबाट एकसाथ सम्पन्न भएको सुरती योग समापन कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार कोइरालाले बढी जनसम्पर्क हुने पत्रकारिता लगायतका पेशा र राजनीतिमा संलग्न हुनेहरुलाई यस्तो ध्यान आवश्यक भएको बताए । कोइरालाले जेलमा रहेका नागरिकहरु र निराशा तथा असन्तुष्टि बोकेर बसेकाहरुलाई ध्यान योगको कार्यक्रम आधारभूत स्वास्थ्य प्याकेजकै रुपमा उपलब्ध गराउनेतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउन आफू लाग्ने बताए ।
पत्रकार अमृत तिमल्सिनाले आलोचनात्मक दृष्टिकोण राख्नेहरुका लागि र सन्तुलित जीवनका लागि ध्यान आवश्यक भएको बताए । ध्यानले लिक छोडेको जीवनलाई समेत लिकमा ल्याउन सहयोग गर्ने तिमल्सिनाले विश्वास व्यक्त गरे । ध्यान योगको एक सत्र समर्थगुरू सिद्धार्थ औलियाले संचालन गर्नुभएको थियो ।
काठमाडौं साधना केन्द्र्मा साधनारत प्रज्ञान अर्याल, राजु बराल, भावना भट्टराई, पुष्पा निरौला लगायतले ध्यान तथा समाधीले आफ्नो जीवनशैली सहज भएको र रचनात्मकता बृद्धि भएको धारणा व्यक्त गरेका छन् । कार्यक्रममा प्रस्तुत भएका समाधि विधि, सुमिरन योग, आनपानसति योग र प्रिती योगमार्फत पचास भन्दा बढी सहभागीले दिव्य नाद एवम् निरंकारको अनुभूति मार्फत योग र समाधिको गहिराईको अनुभव लिएका छन् । आचार्य डा प्रद्युम्नराज पाण्डे, आचार्य डा नम्रता पाण्डे, इन्जिनियर अनन्त विष्ट, आचार्य पूजारी र आचार्य सूर्य सापकोटाले नेपालका साधनाकेन्द्रमा कार्यक्रमलाई प्रस्तुत गरेका थिए ।
Facebook Comments