काठमाडौं । माग्ने बूढाको रुपमा प्रसिद्ध कलाकार केदार घिमिरेको परिवार नै कलाकारितामा संलग्न भएको छ । उनका छोरा आशिषले गत महिनादेखि टिभी सिरियल ‘रिटायर हल्दार २’ को निर्देशन थालेका छन् ।

यतिबेला उनकी श्रीमती सीतादेवी तिमल्सिनाले पनि फिल्म अभिनयमा डेब्यु गरेकी छन् । यसअघि ‘मेरी बास्सै’ लगायत सिरियलमा समेत देखिएकी उनले निर्माण हुन लागेको नयाँ फिल्म ‘सानो संसार’मा शीर्ष भूमिका निर्वाह गर्नेछिन् ।

शुक्रबार कमलादी गणेश मन्दिरमा आयोजित समारोहमा शुभसाइत गर्दै फिल्मको छायांकन भएको जानकारी दिइयो । यो फिल्मलाई चर्चित फिल्म सिरिज ‘चपली हाइट’, ‘फाटेको जुत्ता’, ‘द युगदेखि युगसम्म’का निर्माता अर्जुन कुमारले निर्माण गर्दैछन् ।

फिल्मको शुभसाइत समारोहमा माग्ने बूढा पनि श्रीमतीलाई शुभकामना दिन उपस्थित थिए । ‘अब घरपरिवार र कामलाई सन्तुलन मिलाएर अघि बढ्छौं,’ उनले भने, ‘श्रीमानको रुपमा म उनलाई करिअरमा सहयोग गर्नेछु ।’