
मकवानपुर —मकवानपुरको भीमफेदीमा अनियन्त्रित भएर सवारी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका अन्य दुई जनाको हेटौंडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा मंगलबार दिउँसो भएको कार दुर्घटनामा एक बालक र एक युवकको घटनास्थलमा मृत्यु भएको थियो भने एकजना युवकको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । घाइते दुवै जना महिला हुन् ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.६ च ९३६९ नम्बरको कार अनियन्त्रित हुँदा दुर्घटना भएको हो । कार सडकबाट करिब दुईसय ५० मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक र घाइतेहरुको पहिचान अझै खुलेको छैन । इलाका प्रहरी कार्यालय भीमफेदीबाट गएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको थियो ।
Facebook Comments