ललितपुर । नेकपाको सचिवालयमा मतभेद भएपछि २०७७ पुष ५ बाट निरन्तर ओलीको विरोधमा आन्दोलन हुँदै बाहिरिएका बामदेव गौतम माघ ९ गते बुधबार पुन नेकपा (एमाले) मा प्रवेश गर्दै हुनुहुन्छ । कहिले नेकपा (एस) तिर नजिक र कहिले नेकपा (एमाले) तिर नजिक भन्ने चर्चा चल्दै अन्ततः बामदेव कम्युनिष्ट मूल प्रवाह एमाले भएको ठहर गर्दै एमाले प्रवेश गर्ने निश्कर्षमा पुग्नुभएको हो । यस पटक निसर्त एमाले प्रवेश गरेको चर्चा भए पनि भित्री रुपमा गौतमले निकटस्थसँग मन खोलेरै भनेका छन् ‘यो ओली–बामदेव)को वीन वीन हो भनेर बुझ्नुस् ।’ 

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले फटाफट काम गर्नका लागि प्रतिनिधिसभामा अनुकूल अवस्था भए पनि राष्ट्रिय सभामा अवस्था अनुकूल छैन । राष्ट्रिय सभामा बहुमत विपक्षी मोर्चाको भएका कारण पनि बामदेवलाई एमालेमा समाहित गर्न सक्दा फाइदा हुने निश्कर्ष निकालिएको हो ।

माधव झस्किँदा वामदेवलाई सहज

बामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) सँग एकताका लागि वार्ता पनि गर्नुभएको थियो । अहिले एमाले प्रवेश गर्दा टुक्रिएको नेकपा (एकता अभियान) एकीकृत समाजवादीमा भए सिंगै जान सक्ने अवस्थामा पनि थियो । तर गौतमको प्रवेश भए आफूसँग असहमत भएकाहरुको नेतृत्व गौतमले गर्न सक्ने र त्यसपछिको विद्रोहमा आफूहरु अल्पमतमा पर्ने विश्लेषण नेकपा (एस)का अध्यक्ष माधव नेपालको कोर टीमले गरेपछि माधवले आलटाल गर्दै पछि हट्नुभएको हो । 

अध्यक्ष नेपालले आलटाल गरेर पछि हट्ने संकेत दिएपछि वामदेव समूहका अन्यको व्यवस्थापनको निहुँ बनाएर बरिष्ठ उपाध्यक्ष प्रमेश हमाल लगायतका नेताहरुले टार्दै टार्दै लगेको भन्दै गौतमले एमाले रोज्नुभएको हो । माधवको अविश्वासले गर्दा झस्किएका वामदेव एमाले प्रवेश गरेर आफूलाई फाइदा होला नहोला मनमा उब्जेको तुष अनुसार नेकपा एकीकृत समाजवादीलाई कमजोर बनाउन वा एमालेमा नै विलय गराउनेसम्मको जिम्मेवारीमा भने कुशलतापूर्वक काम गर्ने बुझिएको छ ।

गौतमलाई ‘टास्क’ वाम ध्रुवीकरण

नेकपा एमालेमा प्रवेश गर्ने वामदेव गौतमलाई औपचारिक जिम्मेवारी प्रदान गर्ने सन्दर्भमा पार्टी सचिवालय वैठकले निर्णय गर्ने भए पनि अनौपचारिक ‘टास्क’ नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी लगायतका विभिन्न वामपन्थी समूहसँग सम्वाद गर्ने र ध्रुवीकरणको पहल गर्ने रहेको छ । गौतमले आफू वाम ध्रुवीकरण र बृहत वाम शक्ति निर्माणमा दत्तचित्त भएर लाग्ने बताउनुभएको छ ।