ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले माघ २२ गते रैथाने कृषि मेलाको आयोजना गरेको छ । कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक विउ बैंक सुदृढीकरण कार्यक्रम अन्तर्गत मेलाको आयोजना गरिएको गाउँपालिका कृषि अधिकृत सीता लामाले जानकारी दिनुभयो ।

मेलामा खाद्यान्न तथा दलहन वाली, कन्दमुल, फलफुल, तरकारी, नगदेवाली, स्थानीय लोकल कुखुरा, दूध तथा दूधजन्य परिकार लगायत कृषि उपज तथा परम्परागत देखि आधुनिक कृषि प्रविधिको प्रदर्शनी तथा प्रतियोगिता हुनेछ । कोदो र फापरको रोटी, ढिँडो र स्थानीय परिकारहरुको लाइभ फुड फेष्टिभल समेत मेलाको अवसरमा हुने गाउँपालिकाले जनाएको छ ।

मेलामा गाउँपालिकाभित्रका कृषि तथा पशुपालन फर्म, कम्पनी, सहकारी तथा संघसंस्थाको सहभागिता हुने लामाले बताउनुभयो । उत्कृष्ट स्टललाई पुरस्कृत गर्ने कार्यक्रम रहेको पनि लामाले जानकारी दिनुभयो ।