फागुन ८, काठमाडौं । संविधानसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । सापकोटाको आज विहान ३ः५० मा हेल्पिङ हेण्ड्स अस्पतालमा निधन भएको अस्पताल पुगेका नेकपा एकीकृत समाजवादी नेताहरुले जनाएका छन् । 

काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिनुभयो ।

सापकोटा लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्थ्यो । पोलिटब्युरो सदस्य वाइबाका अनुसार ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि फागुन ४ गते सापकोटा अस्पताल भर्ना हुनुभएको थियो ।

पञ्चायती शासन विरुद्धको कठोर संघर्ष गर्दै मालेकालमा भूमिगत भई विद्यार्थी तथा पार्टी राजनीति मार्फत कम्युनिष्ट आन्दोलनमा योगदान गर्नुभएका सापकोटाको निधनले कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका कम्युनिष्ट पार्टीका नेताहरुले श्रद्धा अर्पण गरिरहेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा तत्कालीन नेकपा एमालेको लामो समयसम्म सचिबको जिम्मेवारीमा रहनुभएका सापकोटा सबै वामपन्थी र आम नागरिकका प्रीय हुनुहुन्थ्यो ।

सापकोटाको शवलाई श्रद्धाञ्जलीको लागि विहान ८ बजेदेखि १० बजेसम्म आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालय परिसरमा राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली सहित दाहसँस्कार गरिने जानकारी नेकपा एकीकृत समाजवादी केन्द्रीय कार्यालयले दिएको छ ।