ललितपुर । मगरगाउँ माध्यमिक विद्यालयलाई हिमानी कोषले खेल सामग्री व्यायामशाला र आकाशेपानी संकलनकेन्द्र सहयोग हस्तान्तरण गरेको छ । सोमबार विद्यालयमा आयोजित एक कार्यक्रम विच बाल उद्यान, शारीरिक व्यायामशाला र आकाशेपानी संकलन केन्द्र हस्तान्तरण गरेको हो ।

कार्यक्रममा हिमानी कोषको प्रमुख कार्यकारी अधिकृत प्रदिप शमशेर राणा कानुनी सल्लाहकार अनिता के.सी, आर्थिक प्रमुख अदिती सिंह लगायत दिपिका लाल्चन, सशांङ्क बहादुर सिंहको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले विद्यालयलाई सबैको सहयोगले नमूना शैक्षिक सँस्थाको रुपमा विकास गरिने बताउनुभयो । लामाले कोषसंग सहकार्य गर्दै पालिकाभित्र थप कार्यक्रम गर्न आफूहरु सकारात्मक रहेको बताउनुभयो ।

हिमानी कोषको निस्वार्थ सहयोगले यस क्षेत्रका विद्यार्थीको शैक्षिक विकास तथा विद्यालयको भौतिक विकासमा सकारात्मक उर्जा मिलेको विद्यालयका प्रधानाध्यापक फुलध्वज लामाले बताउनुभयो । कार्यक्रममा हिमानी कोषको तर्फबाट कानुनी सल्लाहकार के. सीले आफ्नो कोन्ज्योसोम गाउँपालिकासंग सहकार्य गर्दै नमुना गाउँपालिका बनाउन आफुहरु तत्पर रहेको बताउनुभयो । कार्यक्रम समापन गर्दै यसै वडाका वडा अध्यक्ष रोहन घलान लामाले हिमानी कोषले गरेको सहयोगले आउँदा दिनमा आवश्यक योजनाका लागि सहकार्यको सकारात्मक वातावरण बनेको बताउनुभयो ।

हिमानी कोषले कार्यक्रमकै अवसरमा २० बोट जापानीज पैँयुको विरुवा पनि हस्तान्तरण गरेको छ । विद्यालयले पनि आफूहरु कृषि प्राविधिक धार अध्ययन अध्यापन गराउने भएकोले मायाको चिनो स्वरूप इनडोर प्लान्ट र Hanging प्लान्टहरु प्रदान गरेको थियो ।