
ललितपुर । विभिन्न सामाजिक, पेशागत तथा शैक्षिक क्षेत्रमा उच्च योग्यता हासिल गरेका तथा निरन्तर योगदान गर्नेहरुलाई महाँकाल गाउँपालिकाले आठौं स्थापना दिवसमा सम्मान गरेको छ । गाउँपालिकाद्धारा गोटिखेलमा विहिबार आयोजना गरिएको कार्यक्रममा वागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र वागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाउँले सम्मान गर्नुभएको हो ।
सम्मान कार्यक्रममा बोल्दै मन्त्री महर्जनले गाउँपालिकाको वास्तविक जनशक्ति पहिचान गरेर सम्मान गर्ने सँस्कारले सहकार्य र सदभाव तथा क्षमताको कदर गर्ने सँस्कृति सुरु गर्नु नै विकासको संकल्प भएकोमा जोड दिनुभयो । यस्तै उपसभामुख चापागाईले सम्मानित हुनेहरुले जन्मभूमि तथा कर्मभूमिका लागि योगदान गर्ने साझा संकल्प गर्न सके गाउँपालिकाको विकास निकै सहज भएकोमा जोड दिनुभयो ।
प्रदेश सभा सांसद उर्मिला लामाले विकासका लागि पहल र प्रयत्न गर्न एउटै मञ्चमा जम्मा भएका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुको उपस्थितिले आफूलाई निकै गर्वबोध भएको बताउनुभयो । गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक क्षेत्रमा जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाँलले तीव्र रुपमा विकासका प्रयत्नहरु भइरहेको बताउनुभयो ।
कार्यक्रममा राजनीतिको उच्च ओहोदामा पुग्नुभएकी प्रदेश उपसभामुख अप्सरा चापागाई, अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकोमा गाउँपालिका उपाध्यक्ष डोल्मामायाँ गोले, शिक्षा क्षेत्रतर्फ राजेन्द्रप्रसाद तिमल्सिना, सहकारी क्षेत्रतर्फ रामशरण शर्मा घिमिरे, पत्रकारितातर्फ अमृतनाथ तिमल्सिना, साहित्यतर्फ रत्न विरही घिमिरे, गायनतर्फ सुजाता केसी सम्मानित हुनुभएको छ ।
कार्यक्रममा निजामती सेवातर्फ उपसचिव निरा अधिकारी र अधिकृतहरु गोपाल दुलाल (प्रमुख प्रशासकीय अधिकृत कोन्ज्योसोम गाउँपालिका)र होमनाथ दाहाल (उत्तरगया गाउँपालिका)सम्मानित हुनुभएको छ । विभिन्न विषयमा डा.उपाधी हासिल गर्नुभएका डा.खडानन्द दुलाल, खेन रिम्पोछे गेसे ङिमा तामाङ, डा.लक्ष्मण प्रसाद घिमिरे, डा.नारायण घिमिरे, डा.कर्णप्रसाद दाहाल लगायत सम्मानित हुनुभएको छ । डा.ज्ञानु तिमल्सिना, डा.अनु तिमल्सिना, डा.आस्था घिमिरे, डा.रुपक तिमल्सिना, पाइलट अजय तिमल्सिना, इन्जिनियर सुन्दरश्याम घिमिरे लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ५६ जनालाई सम्मान गरिएको छ । यस्तै विभिन्न विद्यालयका ११ जना शिक्षकलाई सम्मान गरिएको छ भने ६ वटा सहकारी र ४ जना प्रधानाध्यापकलाई पनि सम्मान गरिएको छ ।
गाउँपालिकाले खेलकुद संगीत लगायतका विधातर्फ उत्कृष्ट र निरन्तर योगदान गरिरहेकाहरुलाई सम्मान गरेको छ । ११५ औं अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ समेत पारेर आयोजना गरेको कार्यक्रममा विभिन्न वडाहरुका महिला समूहहरु तथा सामुदायिक अध्ययन केन्द्रहरुको साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । गाउँपालिकाले पालिकाभित्रका विद्यालयका शिक्षक तथा उत्कृष्ट विद्यालयलाई पनि सम्मान गरिएको थियो ।
Facebook Comments