
दक्षिण ललितपुरको महाँकाल गाउँपालिका वडा नं १ विमिरेमा भिषण डँढेलो लागेको छ । स्थानीयहरु त्रसित भएर डँढेलो नियन्त्रणका लागि आग्रह गरिरहेको बुखेलका एमाले नेता युनिक दाहालले जानकारी गराउनुभएको छ । करिब ९ बजेतिर वडा नं १ को कालागैरातिरबाट सुरु भएको डँढेलोले विमिरेचौर सम्म नै क्षति गरिसकेको र आफूले सक्दो समन्वय गरेर आगलागी नियन्त्रणको पहल गरेको वडा नं १ का वडाध्यक्ष रामप्रसाद घिमिरेले बताउनुभयो । विमिरेचौरमा रहेको टेलीकम टावर लगायतका संरचना तथा मानव वस्तीमा जान सक्ने खतरा भएकाले हेलीकोप्टर मगाइएको वडाध्यक्ष घिमिरेले बताउनुभयो ।
डँढेलो लागेको थाहा भएपछि स्थानीयले निभाउन प्रयत्न गरिरहेको र नेपाली सेना तथा प्रहरीलाई सहयोगको लागि आग्रह गरिएको वडाध्यक्ष घिमिरेले बताउनुभयो । आगलागी नियोजित वा लापर्वाहीका कारण हुनसक्ने भए पनि तत्काल सबै डँढेलो नियन्त्रणमा लाग्न वडाध्यक्ष घिमिरेले आग्रह गर्नुभएको छ ।
आफूहरुसँग विपत प्रतिकार्य उपकरणहरु नभएकाले आगलागी नियन्त्रण कठिन भएकोले सुरक्षा संयन्त्र र जिल्ला प्रशासन कार्यालय लगायत सबै निकायलाई सहयोगको लागि आग्रह गरिएको गाउँपालिका उपाध्यक्ष डोल्मामायाँ गोलेले बताउनुभयो ।
गोटिखेलमा रहेको प्रहरी इकाइका पाँच जना प्रहरी र सूर्यदल गुल्मबाट नेपाली सेनाको टोली घटनास्थल पुगेर डँढेलो नियन्त्रणको प्रयासमा लागेको सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले जानकारी दिनुभयो । दक्षिण ललितपुरका स्थानीय तहहरुमा दमकल नभएको र महानगरपालिकाको दमकल पुग्न समय लाग्ने भएकाले दमकल परिचालन र हेलीकोप्टर परिचालन लगायतको विषयमा छलफल भईरहेको पनि सहायक प्रजिअ घिमिरेले बताउनुभयो ।
आगलागी नियन्त्रण कठिन भए ललितपुर महानगरपालिकाको दमकल जानका लागि तयारी अवस्थामा रहेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिनुभयो । टाढाको दुरी र पहाडी अफ्ठेरो बाटो भएकाले अरु उपायबाट सम्भव नभएको खण्डमा मात्रै दमकल मुभ गर्ने भन्ने भएकाले आफूहरु तयारी अवस्थामा रहेको हाछेथुले बताउनुभयो
Facebook Comments