ललितपुर – बाग्मती गाउँपालिका वडा नम्बर ७ मा पर्ने गिम्दी भौगालिक हिसाबले दुर्गम भएपनि वडाले पछिल्लो समय विभिन्न क्रियाकलाप मार्फत आफ्ना जनतालाई समेट्ने प्रयास गरिरहेको छ । ललितपुर जिल्लाकै सुदुरदक्षिणी क्षेत्र गिम्दीमा पूर्वाधार विकास , खानेपानी , शिक्षा , कृषि , अतिरिक्त कृयाकलाप , समाजिक सुरक्षा भत्ताको सहज वितरण , जेष्ठ नागरिक सम्मान, होमस्टे विकास लगायतका कार्यक्रमले वडाबासीलाई समेट्ने प्रयास गरेको वडा अध्यक्ष होमप्रसाद बजगाइँले बताए । 

प्रेस चौतारी ललितपुरको आयोजनामा गिम्दीको नारायण डाँडामा अवस्थित वरको बोटको चौतारीमा आयोजित वडामा चौतारी कार्यक्रममा बोल्दै वडा अध्यक्ष बजगाइँले सकारात्मक सोँचका साथ अगाडी बढेर काम गरे सफलता नै सफलता मिल्ने बताए । उनले शिक्षकको क्षमता बृद्धिका कार्यक्रमदेखि लिएर स्थानीय तहमा शैक्षिक अवलोकन भ्रमण समेत वडाले गर्दै आएको बताए । 

कोरा किताबी ज्ञानसँगै अतिरिक्त र ब्यवहारिक ज्ञान अहिलेको आवश्यकता भएको बताउँदै उनले वडा भित्र अतिरिक्त क्रियाकलाप समिती नै बनाएर काम गर्दै आएको बताए । २ वटा मावि , ५ वटा आधारभूत र २ वटा इसिडी गरी कूल ९ वटा विद्यालय यस वडामा छन् । हाजिरीजवाफ , हिसाब दौड , भलिबल प्रतियोगिता यहाँ हुँदै आएको छ । वडाले विद्यालयहरुमा आवश्यक सामग्रीहरु पनि पु¥याउँदै आउको छ । 

प्रेस चौतारी ललितपुरका अध्यक्ष नवीन लुईटेलसँग कुराकानी गर्दै वडा अध्यक्ष बजगाइँले कृषक दाजुभाई दिदीबहिनीका लागि गएको आर्थिक वर्षमा खेतबारी जोत्ने १४ वटा ट्याक्टर वितरण गरीएको बताए । साथै उनले आवश्यकता पहिचान गरी ३५ जनाका लागि कृषि सामग्रीसमेत वितरण गरिएको जानकारी दिए । 

सडककको मर्मत , कुला खोल्सा निर्माण , प्रतिक्षालय निर्माण, भ्यूटावर , चमेरे गुफा जाने बाटोको स्तर उन्नती , मगर गाउँमा होमस्टे लगायतमा पनि वडाको विशेष काम भइरहेको उनले बताए । अल्पसंख्यक बराम समुदाय  लागि विशेष कार्यक्रम र महिलाको क्षमता अभिबृद्धिका लागि उद्घोषण कार्यक्रम भर्खरै गरिसकिएको वडा अध्यक्ष होमप्रसादले जानकारी दिए । 

नेपाली कांग्रेसको नेतृत्वमा रहेको बाग्मती गाउँपालिकाले अन्य वडामा भन्दा बजेटको सिलिङ यहाँ कम रहेकोमा उनको दुखेसो छ । अरुतिर  वडामा ५० लाखको सिलिङ छ तर यहाँ जम्मा ३० लाख स्थानीय तहबाट आउने बजेट सिलिङ छ , उनले भनेर्,  १ करोड ८६ लाखको खानेपानीको बजेट केन्द्रबाट ल्याउन हामी सफल भएका छौँ । उनले अबको २ वर्षभित्र वडाभरि नै मिटरसहितको धारा सम्पन्न गरीसक्ने प्रतिवद्धता जनाए । उनका अनुसार कटुवा, नागटार , सुवाने, खुर्मी, साउमारा, बर्केथुममा खानेपानीको समस्या समाधान हँदै गएको छ । 

जनताले पहिलो संझने हामीलाई हो , उनले भनेर्, त्यसैले सुख दुखको साथी वडा बन्नुपर्छ । भौगोलिक विकटता रहेको यहाँ बैंकको टोली खटाएर वडा कार्यलयमै समाजिक सुरक्षा भक्ता वितरण गरिएको छ भने महिलालाई आय आर्जनका कार्यक्रममा लगाइएको उनले बताए । 

यसैगरी जेष्ठ नागरिकको आँदखा लगायतको स्वास्थ्य जाँच गरी उपचार गराउँदै जेष्ठ नागरिकलाई आवश्यक पर्ने ओढ्ने,टोपी छाता, जुत्ता, लौरो , पानी तताउने जग वितरण पनि वडाले गरिरहेको उनले बताए । सरकार गुनासोमा अलमलीनु हुँदैन, वडासम्म पुग्ने कार्यक्रम लैजानुपर्छ भन्ने मान्यताका साथ आफू अघि बढेको उनले बताए । 

विदेश पलायन हुने तथा राजधानी र सदरमुकाममा मात्रै केन्द्रित यूवालाई गाउँमै बस्ने वातावरण बनाउनुपर्ने , जनप्रतिनिधी पनि टुरीष्ट हैन , गाउँमै बस्ने हुनुप¥यो , पीर मर्कालाई नजिकबाट चिहाउन सक्ने बन्नुपर्ने उनको भनाई छ । सरकारमा बसेर आफ्नैलाई भ्रष्टाचारमा रुमलिन दिने प्रवृत्ति हटाउनुपर्ने उनको सुझाव छ । 

वडामा चौतारीको दोस्रो अंक बाग्मती ७ गिम्दीमा गर्न पाउँदा आफूलाई खुसी लागेको प्रेस चौतारी ललितपुरका अध्यक्ष नवीन लुईटेलले बताए । उनले भौगोलिक रुपमा विकट देखीएपनि गिम्दीले सामाजिक रुपमा सुगमता खोज्दै गरेकोमा खुसी ब्यक्त गरे । वरको चौतारोमा भएको वडा चौतारीमा ६० भन्दा बढि जेष्ठ नागरिकसहित अन्य वडावासी सहभागी थिए । 

चौतारी ललितपुरले यसअघि गएको असार १३ गते गोदावरी नगरपालिका वडा नम्बर १३ झरुवाराशीमा वडामा चौतारी कार्यक्रम गरेको थियो । सो कार्यक्रममा वडा अध्यक्ष भाष्कर थापाले वडाभित्र भएका क्रियाकलापका बारेमा जानकारी दिएका थिए ।