ललितपुर – गोदावरी वडा नम्बर १० का मतदाताले स्थानीय उम्मेद्वारको पक्षमा लाग्ने प्रतिवद्धता जनाएका छन् । नेकपा एमालेको घरदैलोका क्रममा उनीहरुले यही भूगोल र यही वडावासी चेतनाथ सञ्जेललाई नै मत दिने प्रतिवद्धता जनाए । 

एमालेले यसपटक ललितपुर क्षेत्र नम्बर १ मा वडा नम्बर १० टाहाखेलमा बस्ने सञ्जेललाई उम्मेद्वार बनाएको हो । वडा भित्रका चारघरे, टाहाखेल, बस्नेतगाउँ, पारीगाउँ, बोहोराटार, डाँडागाउँ, घ्याम्पेडाँडा, विष्टगाउँ, सल्यान, खसीमार , मुलडोल, न्यौपानेगाउँ, झ्यालुन्टार , च्याँनडाँडा, रंगशाला वरिपरीका स्थानमा घरदैलो कार्यक्रम भएको थियो । 

सो क्रममा ठाउँ ठाउँमा पुगेर नेता कार्यकर्ताले शालिन ढंगले नाचगान गरेका थिए । घरदैलोका क्रममा भेटिएकाहरुले आफ्ना गाउँ टोलका समस्याहरु अवगत गराउँदै यसपाली आफ्नै ठाउँका सञ्जेललाई नै मत दिने प्रतिवद्धता जनाए । उम्मेद्वार सञ्जेलले वडा भित्रको हरेक दुख सुखमा साथ दिएको र आगामी दिनमा पनि साथ दिइरहने जनाए । 

यहाँका स्थानीय सडक, खानेपानीदेखि अन्य पूर्वाधारको विकास तथा रोजगारीका विषयमा जिज्ञासा राखेका थिए । जवाफमा सञ्जेलले आफू निर्वाचित भएपछि टाहाखेल टौखेल सडकको स्तर उन्नती गर्ने , खानेपानीको समस्या भएको स्थानको पहिँचान गरि समाधान गर्ने, यहाँका मठमन्दिरको उचित संरक्षण गर्दै भागावनमा बनेको सिँढि सहितको पर्यटकीय स्थललाई आय आर्जनको बाटो खोल्ने र स्थानीय उद्यमलाई ब्यवस्थीत गर्दै रोजगारीका अवसरहरु खोज्ने प्रतिवद्धता जनाए । 

साथै उनले गोदावरी बहुउदेश्यीय रंगशालालाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिता खेलाउने मैदान बनाउँदै स्थानीयको जिविकोपार्जन सुधारमा ठोस् पहल गर्ने वचन पनि दिए ।