काठमाडौँ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई यथाशीघ्र सार्वजनिक सवारी साधनको भाडा वृद्धि गर्न अल्टिमेटम दिएको छ । इन्धनको मूल्यमा लगातार भइरहेको वृद्धि र महँगीका कारण सवारी सञ्चालन गर्न नसक्ने अवस्था आएको भन्दै व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका हुन् ।
महासंघका अनुसार वैज्ञानिक भाडा समायोजन प्रणाली लागू नभएको र लामो समयदेखि भाडा स्थिर रहेका कारण व्यवसायीहरू मारमा परेका छन् । "इन्धन, स्पेयर पार्ट्स र कर्मचारीको तलब बढ्दा पनि भाडा नबढ्नु अन्यायपूर्ण छ," एक पदाधिकारीले भने, "यदि सरकारले हाम्रा मागहरू सम्बोधन नगरे देशभरका गाडी ग्यारेजमा थन्काएर सडक आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ ।"
व्यवसायीहरूले आफ्ना माग पूरा गर्न सरकारलाई निश्चित समयसीमा तोकेका छन् । उक्त अवधिभित्र सुनुवाइ नभए देशभरको यातायात सेवा पूर्ण रूपमा ठप्प पार्ने उनीहरूको चेतावनी छ । यसअघि पनि पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदा समेत माग पूरा नभएपछि बाध्य भएर कठोर निर्णय लिनुपरेको व्यवसायीहरूको दाबी छ ।
Facebook Comments