काठमाडौं । वैदेशिक भूमि दुबईमा नेपाली व्यवसायीको नेतृत्वमा सफलता हासिल गरेको राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू अब आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेका छन्। मंगलबार राजधानीमा आयोजित एक भव्य समारोहका बीच कम्पनीले आफ्ना प्रिमियम गुणस्तरका उत्पादनहरू सार्वजनिक गर्दै देशभर वितरण प्रक्रिया सुरु भएको जानकारी दिएको हो।

नेपाली उपभोक्ताको विश्वास र सहजतालाई मुख्य प्राथमिकतामा राखेको यस कम्पनीले बजार प्रवेशसँगै निकै आकर्षक 'नो क्वेश्चन आस्क्ड रिप्लेसमेन्ट ग्यारेन्टी'को घोषणा गरेको छ। यस योजनाअन्तर्गत खरिद गरेको एक वर्षसम्म उत्पादनमा कुनै पनि समस्या देखिएमा ग्राहकले बिना कुनै झन्झट सिधै सामान साट्न पाउने सुविधा उपलब्ध हुनेछ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेश सुवेदीले राफेलाई केवल एउटा ब्रान्ड मात्र नभई आत्मविश्वास र उत्कृष्टताको प्रतीकका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले दुबईमा प्राप्त सफलता र अनुभवलाई अब नेपाली उपभोक्तामाझ ल्याउँदै भविष्यमा अन्तर्राष्ट्रिय बजारमा थप विस्तार गर्ने सोच रहेको समेत स्पष्ट पार्नुभयो।

करिब चार वर्षअघि यूएईमा स्थापना भएको रफ्फाए इन्टरनेशनल ट्रेडिङले छोटो समयमै नवीन प्रविधि र गुणस्तरीय सेवाका कारण विशिष्ट पहिचान बनाउन सफल भएको छ। नेपालमा पनि उच्चस्तरीय प्रविधि र बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ। क्रिकेटर आदिल अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सार्वजनिक कार्यक्रमले नेपाली उत्पादन र व्यवसायीको अन्तर्राष्ट्रिय यात्रालाई थप उचाइ दिने अपेक्षा गरिएको छ।