काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने भन्सार र पूर्वाधार विकास कर ५० प्रतिशतले घटाउने निर्णय गरेको छ । यस निर्णयअनुसार प्रतिलिटर १० रुपैयाँ लाग्दै आएको पूर्वाधार कर ५ रुपैयाँमा झर्नेछ भने पेट्रोलमा १२.५० रुपैयाँ र डिजेलमा ६ रुपैयाँ भन्सार कर घट्नेछ । यसरी पेट्रोलमा कुल १७.५० रुपैयाँ, डिजेलमा ११ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ४५ रुपैयाँ कर कम हुने देखिन्छ ।

नेपाल आयल निगमलाई आधिकारिक पत्र प्राप्त भएपछि यो व्यवस्था कार्यान्वयनमा आउने भए तापनि उपभोक्ताका लागि तत्कालै मूल्य घट्ने सम्भावना भने न्यून छ । हाल निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ, डिजेलमा १२० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ४१६ रुपैयाँ घाटा रहेकाले कर कटौतीपछि पनि निगम ठूलो नोक्सानीमै रहने देखिन्छ ।

सरकारको विशेष निर्देशन वा निगम सञ्चालक समितिको निर्णय भएमा मात्र मूल्य घट्न सक्छ, अन्यथा हाल उपभोक्ताले पेट्रोलमा ६६.९८ रुपैयाँ र डिजेलमा ४९.२८ रुपैयाँ विभिन्न शीर्षकका करहरू तिरिरहेका छन् ।