काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुनको मूल्य तोलामा सात हजार ४०० रुपैयाँले बढेर प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो मङ्गलबारको तुलनामा आजको यो वृद्धि निकै उच्च देखिएको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ। आज चाँदी तोलामा १०० रुपैयाँले बढेर प्रतितोला चार हजार ९४५ रुपैयाँ पुगेको छ। हिजो मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ र चाँदी चार हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही दिनयता बजारमा सुन र चाँदी दुवैको मूल्यमा लगातार उतारचढाव आइरहेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा मूल्य बढेको व्यवसायीहरूको भनाइ छ। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार ७०५ अमेरिकी डलर र चाँदी ७५ डलरमा कारोबार भइरहेको छ। विश्व बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारको दरभाउमा पनि परेको हो।
Facebook Comments